प्रेम लुकेको हुन्छ!


"प्रेम लुकेको हुन्छ"




उनी कक्षा ५ मा पढ्दा म ९ मा पढ्थे बिराटनगरको BKVM स्कुलमा। हामी दुबैको घर बिराटनगर-१३ तीनटोलिया बगलामुखी मन्दिर छेउ। वल्लो पल्लो घर थियो। उनीहरु बसाइ सरेर आएका थिए हाम्रो सँगै जोडीएको देब्रेतिरको घरको पहिलो तल्लाको फ्ल्याट भाडामा लिएका थिए। अंकल मालपोतको सामान्य कर्मचारी सरुवा भएकाले परिवारनै लिएर आएको छोरी पढाउन नि सजिलो भन्नु हुन्थ्यो बाबा ममिसँग। पहाड खोटाङ बताउथे। उनी ४ कक्षा सकेर ५ मा भर्ना हुनेवाला थीइन। मान्छे उमेर कम भएपनी जिउडाल हेर्दा पत्यार नलाग्ने खाल्की एकदम बाठी कसैसँग बोल्न नलजाउने। हामी पनि पहाड बाटै सरेर आएको थिम म १ मा हुँदा। दुबै परिवार पहाडीया भएकोले होला एकदम घुलमिल भएका थियौ। भर्ना गर्ने बेलामा उसको बाबाले मेरै स्कुलमा भर्ना गर्न रुची देखाउनु भयो तर त्यसका लागि प्रवेश परिक्षा पास गर्नु पर्थ्यो। उनको पढाई राम्रो रहेछ प्रेवेश परिक्षा पास गरिन। एक्ली छोरी थीन उनी। ममिको पाठेघरमा ट्युमर भएर पाठेघर फालेको रे भनेर उनिहरु बसाइ सर्दा ताका सुनेको थिए। आण्टी किराना पशल गर्नु हुन्थ्यो। 
नयाँ कक्षामा भर्ना भएपछी उनको बाबाले म सँगै उनलाई स्कुल पठाइदिन थाल्नुभयो। म अली नबोल्ने मान्छे सुरु सुरुमा त बाटोमा हामी एक अर्कासँग कुनै कुरा गर्दिन थियौ, हल्का लजाएझै गर्थिन म सँग। म पढाईमा अब्बल थिए क्लासमा अधिकांश परिक्षामा फस्ट, सेकेण्ड अाईरख्थे। मैले भाग लिएका कुनै प्रतियोगिता त्यस्ता भएनन जहाँ म खाली हात फर्के। म पनि मेरो घरको एक्लो छोरा थिए। सबैले मेरो पढाईको तारिफ गर्नु हुन्थ्यो। हामी दुई परिवार कसैकोमा केही मिठो पाक्यो भने बाडेर मात्र खान्थ्यौ। उनी कहिलेकाही ठुलोममी ममिले पठाइ दिनु भको भन्दै मासु, माछा बोकेर अाइ पुग्थिन। 
दिनहरु बित्दै गए हामी धेरै बोल्ने मिल्ने भैसएका थियौ। कहिलेकाही मेरो ममिले यही छुच्ची केटीलाई बुहारी बनाउन मन छ मलाई भनेर जिस्काउनु हुन्थ्यो बाहिर बोलेको मेरो कोठामा प्रस्ट सुनिन्थ्यो। पहिला पहिला त लाजले भुतुक्क भएर रिसाउने उनी पछी पछी यो ठुलोममी नि के के भन्नु हुन्छ हुन्छ मार्दिन्छु नि म भन्दै लजाउदै हास्ने गर्थिन। म सब सुनिरहेको हुन्थे तर केही प्रतिकृया दिन्नथे। कहिलेकाही आण्टिले जा दाजुसँग बसेर पढ् नजानेको सोध भनेर पठाउनु हुन्थ्यो उनी मेरो छेवैको अर्को टेवलमा आएर पढ्थिन कहिले नजानेको सोध्थिन कहिले कक्षामा यसो भयो आज उसो भयो भनेर सुनाउथिन। सानो कक्षामा भएकी भएपनी बोलिचालिमा उनी ठुलो मान्छे जस्तो लाग्थ्यो मलाई। उमेरमा म उनिभन्दा ३ बर्ष जेठो थिए नातामा दाजु। कक्षा सकेर घर फर्कदा पनि आफ्ना साथीहरुलाई बिदाइ गरेर सधैं जसो मेरी अघिपछी लाग्थिन बाटोमा कहिले मुभिका कहिले होमवर्कका बारेमा कुरा हुन्थे। म स्केच बनाउन स्कुलमै चिनिएको थिए एकदिन उनको पनि स्केच बनाइ दिएको थिए कम्ती खुशी भैनन। त्यसलाई फ्रेम गरेर उसको बुवाले भित्तामा झुन्ड्याइदिनु भएको थियो। मैले कुनै प्रतियोगितामा कुनै पुरस्कार जित्दा उनी नै हुन्थिन सबै भन्दा बढी ताली बजाउने। जिती सकेर घर फर्कदा भन्थिन तपाईंले धेर पुरस्कार जितेर ताली बजाउदा बजाउदा मेरो हातमा रौ नै छैन हेर्नु। म "है बिचरा" भन्दै हस्थे। 
मेरो र उनकै त्यस बर्षको वार्षिक परिक्षा सकिएको थियो उनका ठुलो बुवाका छोराहरु पहाड बाट उनको घरमा ममिसँग घुम्न आएका रहेछन दुई जना एक जना एस.एल.सी दिएका थिए एक जना १२ पढ्दै। म उनिहरुकै घरको कोठामा टि.भी हेर्दै थिए बाहिर सबैजना बसेर गफ गर्दै हुन हुन्थ्यो उनिपनी गफ सुन्दै रहिछन यतिकैमा ममी ममी मिलेर उनलाई सोध्नु भयो को राम्रो तिम्लाई भनेर? एकछिन पछी उनको उत्तर आयो- "मलाई त आकाश दाईनै राम्रो।" भित्रबाट सुनिरहेको मेरो अनुहारमा मन्द मुस्कान निस्कियो। 
हामी दुबै जनाको त्यस बर्षको रिजल्ट आयो दुबै जना प्रथम भएका रहेछौ। दुबै घरमा खुशीयालिका साथ पार्टी चल्यो, भोलिपल्ट हामी दुबै परिवार घुम्न भेडेटार गयौ। उनको मुहारमा छ्ट्टै चमक थियो। म गोरो वर्न र हल्का अग्लो कद भएको मान्छे हल्का ग्रन्च पाइन्ट कालो टिसर्ट र जुत्ता लगाएको थिए। उनी ममिलाई भन्दै थीइन कस्तो सुहाको है ममी आकाश दाइलाई। 
घुम्यौ, ममीहरुले खै दुइटा फस्टको फोटो खिचिदिम भनेर हामी २ को पनि फोटो खिचिदिनु भयो म सबैजसो फोटोमा सिरियस देखिन्थे उनीभेने मुस्कुराइ रहेकी थीईन। 
१० कक्षामा पुगे म उनी छ कक्षामा थीइन। म अली काम बोल्ने कहिलेकाही मेडम के गर्दै हो भनेर उनको घरमा पुग्थे उनी मुसुक्क हासेर लजाएझै गर्थिन। कहिले म कोठामा भएको बेला चक्लेट, चुइगम, चाउचाउ बोकेर खाने दाजु भन्दै अाइपुग्थिन म उनले दिएको कुनै पनि कुरा नाइ भनेर नकार्दिन थिए। कहिले बाबाले मलाई दिनु भएको डायारि हेर्नु न भन्दै आउथिन.. अनी तपाईंलाई चाहिएको छ भनेर सोध्थिन मैले छ भने भने मलाई अर्को ल्याइदी हाल्नु हुन्छ नि भनेर दिएर जान्थिन म उनको त्यो ब्यबहार देखेर मनमनै आस्चर्य मान्थे। 
यतिकैमा मेरो एस.एल.सी सकियो म काठमाडौं आउनेवाला थिए दिउसो ३ बजेको फ्लाईट थियो। सबैले बिदाइ गर्नु भयो ममी त रुन्चे अनुहार लगाउदै बिदाइ गर्दै हुनु हुन्थ्यो। शायद त्यही थियो आमाको माया। सधैं हासी खुशी बोली राख्ने उनी म हिंड्ने बेलामा पनि देखा पारीनन,न मैले नै बोलाउन सके। उनलाई खै के भएको थियो कुन्नी बिहानै बाट बाहिर निस्किएकी थीइनन। 
क्रमश:


प्रेम लुकेको हुन्छ (भाग-२)
काठमाडौं आए। नयाँ ठाउँ नयाँ शहर एकदमै अनौठो लागिरहेको थियो। बाबाले ल्याएर बानेश्वर थापागाउको नमुना होस्टलमा राखेर बागबजार स्थित Intel Institute मा bridge course भर्ना गरिदिएर जानु भयो। कहिल्यै घर छाडेर आमाबुवा बिना बाहिर नबसेको मलाई यहाँ घुलमिल हुन अत्यन्तै गार्हो भएको थियो। जहिले पनि दिमागमा घर परिवार, उनी (जस्ले मलाई अत्यन्तै ठुलो मायाको छाप छोडेकी थीईन।), अनी BKVM स्कुल र त्यहाका साथीभाइ घुमिरहेका हुन्थे एउटै केन्द्रबिन्दु बनाएर सेन्ट्रिपेटल बलले घुमाएझै गरेर मेरो दिमागको बृत्तिय परीधिमा। बेला-बेला सम्झदा सम्झदै सम्हालिनसक्नु हुन्थ्यो आँफैलाई। उडेर त्यही पुगौ, सबैको अगाडि रहु जस्तो हुन्थ्यो। ढोका थुनेर एक्छिन रुन्थे। तर जसरी भएपनी आफुलाई सम्हाल्न पर्थ्यो, घरमा जस्तो उनको पर्खाइ म हरेक रुवाइमा गर्थे तर त्यो पर्खाइ मात्र कल्पनाको हुन्थ्यो।
म काठमाडौं आएको केही दिनमै उनको रिजल्ट आयो, फेरी पनि उनी प्रथमनै भएकी रहिछन। त्यो दिन आण्टीसँग पनि कुरा भयो भन्दै हुनुहुन्थ्यो- "तिमी हुन्जेल त सिकाउथ्यौ पनि आउने जाने साथी नि हुने ढुक्क पनि हुन्थो मलाई खै अब के-के हुने हो यसको पढाई।"
उनलाई पनि फोन दिन लगाए- खुशी त थिए तर बोल्न सकिरहेको थीइन भर्खर जन्मेको बालकझै सकुन्जेल आवाज निकालेर रुन मन लागिरहेको थियो। यसै मन थामेर भने-"ल बधाई छ है।"
लजाएको स्वरमा उत्तर आयो- "थ्यान्क यु।" 
मेरो bridge course चलिरहेको थियो स्कुलमाझै १० बजेबाट ४ बजेसम्म। म हरेक चोटि Intel जादा आउँदा उनैसँग BKVM गएका पल-पललाई याद गरिरहन्थे। यो मेरो प्रेम थियो या बहिनी प्रतिको स्नेह त्यो छुट्याउन सक्दिनथे। हरेक दिनजसो घरमा फोन संपर्क हुन्थ्यो। कहिले काही उ त्यही कतै बोल्दै गरेकी सुनिन्थी म के गर्दैछन तिनी भन्दै सोध्थे। मनमा त मलाई उनको दिनहुको खबर सोध्न मन लाग्थ्यो तर यसो गर्दा ममिले के भन्नुहोला भनेर मनको बाघले ईच्छारुपी साहसलाइ भित्र भित्रै मारी चपाएर निलिदिन्थ्यो। बेला-बेला छेउमा सुनिने उसैको बोलिको निहु पारेर उसको खबर सोध्ने म हरेक पटक फोन गर्दा वा उठाउदा उ त्यही कतै होस् भनेर भगवानलाई पुकार्थे। उ त्यही सुनीइ भने अनावस्यक संबाद बढाएर भएपनी ममी बाबासङ्गको कुराकानीलाई लम्ब्याउथे। काहिलेकाही त चिनी राखेको उनको स्वरलाई नचिनेझै गरी को हो छेउमा बोल्ने भनेर नि सोधिदिन्थे ता कि ममीबाबाले उनको कुरा गर्नुहोस्। बोल्दा ममी र बाबाको बोली भन्दा छेउछाउ कतै उनको बोली सुनिन्छ कि भनेर कान तिखो पारेर सुनिरहेको हुन्थे म। ममी बेला बेला भन्ने गर्नुहुन्थ्यो- "बाबु तँ गएपछी त सुन्ने भाछ यो घर सुन्ने भा छ भुत बस्ने जस्तो, खै निहारिका पनि त हुँदा त अाईराक्थी आज भोली बिराएझै गरेर आउछे।" म सुनी मात्र रहे। जवाफ फर्काउने शब्द मसङ्ग थिएन। 
यस्तै दिनचर्या गरेर ३ महिना बिते। मेरो पनि एस.एल.सी को रिजल्ट आयो म ८७.२५% ल्याएर पास भएछु तर प्रथम भएको थीईन। बाबा फेरी काठमाडौं आउनु भयो। मैले WhiteHouse कलेजमा scholarship पाए। कलेजकै होस्टलमा राखिदिनु भयो बाबाले। डे शिफ्ट रोजेको थिए मैले। होस्टलमा मोबाइल प्रतिबन्ध थियो। होस्टलकै ल्याण्डलाइनमा फोन आउथ्यो घर बाट पालेले बोलाइदिन्थे। अब दिनहु हुने घरको फोन पातलिएको थियो। 
उनको यादको हावाहुरिले मलाई यतिसम्म हल्लाउथ्यो कि म कुनै बोर्डिङ् स्कुल जादै वा स्कुलबाट फर्कदै गरेकी सट फ्रक लगाएकी,दुइचुल्ट्ठी पोनी टेल कपाल बाटेकी र पछाडि किताबको ठुलो ब्याग बोकेकी कोही विद्यार्थीलाई बाटामा देखे भने पनि पर पुगुन्जेल सम्म उनैलाई सम्झेर हेरीरहन्थे। नाता दाजु बहिनिको थियो हामीमा तर माया प्रेम रोमियो जुलियटको भन्दा कम थिएन जस्तो लाग्थ्यो। न मैले पनि उनलाई कहिल्यै तिमी मेरो प्रेमिका भन्ने शब्दले माया गरे, न उसले तपाईं मेरो रोमियो भनेरनै माया गरी। सबै ब्यबहार थियो अनी सदाबहार थियो। उनी यसरीनै मेरो मस्तिस्कको परिधिमा सम्झनाको बिगुल बजाउदै फन्को मारिरहन्थिन। 
भाद्रको दिन थियो म बिहान उठेर चिया पिउदै थिए। पलेदाइले बोलाउनु भयो-"आकाश जङ कट्टेलको फोन आछ छिटो आउ।"
म हतार हतार पुगे ममिले गर्नु भा रहेछ। एकछिनको घरायसी कुरा पस्चात अली दुखी हुँदै भन्नु भयो- "निहारिकाको बाबाको पनि सुर्खेत नियुक्ती भएछ बढुवा भएर।" हिजै यहाँ छाडेर गए। निहारिकालाई नि उतै पढाउने भनेर स्कुलबाट सर्टिफिकेट झिकेर लगे। कस्ती मायालाग्दी बाठी न बाठी थि जानेबेलामा पनि रुदै हाम्लाई समेत रुहाएर गै।" म एकोहोरो सुनेको सुनै भए केही आवाजनै निस्केन। अब सबैभन्दा बढी रुनेवाला त म थिए। 
क्रमश:

प्रेम लुकेको हुन्छ (भाग-३)
ममि सङ्गको फोन टुटेपछी मैले आँफैलाई थाम्न सकिन, कोठा नपुगी सिधै ट्वाईलेट छिरे खै किन हो कुन्नी भक्कनो छुट्यो। रोए धेरै रोए, उनकै यादले बादल लागेको मन सफा हुनेगरी। म यतीको रुवाइ पस्चात पनि यो भन्न सक्दिन थिए कि उ मेरो प्रेम हो। यती मलाई थाहा थियो कि उसका व्यबहारले र सँगैको साथले म तड्पिएको थीए अनी यदी सहि समय र परिस्थिती मिलेको खण्डमा यो तड्पाइ प्रेममा बदलिन पनि सक्नेछ। यसै पनि घरमा फोन गरागर कम हुन्थ्यो। होस्टलमा आफुले घर कल गर्न बिशेष काम परेको बेला मात्र पाइन्थ्यो त्यो पनि ५ मिनेट। कहिलेकाही आँफैले मलाई फोन गर्नु भनेर फोन गर्थे, मन थामिनसक्नु भएपछी त के गर्नु? अनी घर बाट फोन आउथ्यो खबर सोध्दा सोध्दै कहिले काही लाजले हो या डरले मेरो फोन गर्नुको मुख्य उद्धेस्य नै भन्न छुट्थ्यो। कहिले काही सोध्थे- आन्टिले फोन गर्नु हुन्छ कि नाइ भनेर। पहिलो चोटि त निहारिकाको पनि भर्ना भयो ठिकैछ सबैलाई भनेर फोन गर्नुभएको थियो भनेर भन्नु भयो। त्यस पछी "ठिकैछ रे कहिलेकाही कल गर्छन्" बाहेक केही उत्तर सुन्न पाईन ममिको मुखबाट। 
यसरी उनैलाई सम्झेर कती रात कती दिन बिताए मैले। होस्टल आएपछी धेरै जना साथीहरु सँगको चिनजानले पनि केही हदमा त भुलेकै थिए मैले तर पुरै त कहाँ भुल्न सक्थे र! कहिले काही पढ्दै गरेको किताबकै पानामै टुप्लुक्क निस्किदिन्थीन उनी यसै मलाई जिस्क्याएझै गरेर। कहिले खाँदै गरेको थालमा देखिन्थिन उनी आफ्ना कोमल हातहरुले खाना उठाएर मलाई खुवाउन आटेकी जस्ती भएर। जती पटक यो कल्पनाको संसारबाटै सिधै उनी बाहिर निस्कन्थिन, म कहिले पढ्दै गरेको किताब छाडेर, कहिले खाँदै गरेको खाना छाडेर गई बिछ्यौनामा पल्टिन्थे। 
दसैंको छुट्टी भयो। म घर फर्किए तर त्यो ठाउँ पुगेपछी मलाई डाको छोडेर रुन मन लाग्यो। उनी र म बसेर पढ्ने कुर्सी टेबल खाट दराजले पहिलेका घटनाहरु एक एक गरेर सियोले घाऊ कोट्याएझै कोट्याइरहेका थिए। म घाऊ पोलेको जस्तो भईरहेको थिए। उनिहरु बस्ने घरमा पनि अरु कोही आएर बसिसकेका रहेछन। कहिलेकाही बाहिर निस्केर त्यही घर तर्फ फर्कने आट कताबाट आउथ्यो कुन्नी, यसो हेर्थे। ति पसल अगाडि बस्न भनी राखिएको बेन्च उस्तै थियो। त्यही उ बसिरहेको सम्झना आइ हाल्थ्यो। उनी खाली पनि आफ्नै वरीपरी कतै घुमिरहेझै लागिरहन्थ्यो। सबैभन्दा बढी त उनि मेरो दिमागमा घुमिरहन्थीन। 
घरमा बिताएको त्यो दशै तिहार बिचको एक महिना मलाई एक बर्ष भन्दा पनि लामो भयो। उसको याद कती लिटर तेल हालेर मेरो आँखा अगाडि घुम्न सुरु गरेको थियो कुन्नी कहिलै अवतरण गरेन। दशैको बेलामा उसको बुवाले कल पनि गर्नुभएको थियो, आन्टी खासै पढालेखा हुनु हुँदैन थियो। मेरो अली निको भएको घाऊ घर गएपछी अझै बल्जिएको थियो, बल्ल तल्ल बिदा सकिएर काठमाडौं फर्के। 
काठमाडौं फर्केपछी फेरी फेरी घर फोन गर्दा कहिल्यै उनको खबर सुन्न पाईन। ममी पनि फोन लाग्दैन पनि आउँदैन पनि भन्नु हुन्थ्यो। १ बर्ष २ बर्ष गर्दै ५ बर्ष बितिसक्यो। उनको केही खबर छैन। हरेक बर्ष बित्दा यती कक्षा पास भईन होला भनेर सम्झन्छु, उनकै मायाले। याद त अाइरहन्छ, कहिले काही राती सुतेको बेलामा रातैभरी ननीदाइ उनैलाई सम्झिरहन्छु मुटुको धड्कन बढेर मुटु फुट्लाजस्तै हुन्छ। एकछिन आतिन्छु र जुरुक्क उठेर बस्छु। कयौ पटक उनलाई फेसबूकमा सर्च गरेर नखोजेको पनि हैन तर आजसम्म पनि भेटिएकी छैनन उनी। जमाना फोनको छ भनेर के गर्नु आजसम्म पनि कुनै कन्ट्याक्ट गर्न सकेको छुईन उनिलाई। अझै पनि यही आशामा छु कुनै दिन कतै भेट्छु उनलाई। धेरै कुरा भन्नु छ उनलाई मैले।
कथा यतिमै टुङगिएको थियो। हिजो बिहानै फेसबुक खोलेर मेसेज हएर्दै थिए। एउटा मेसेज रिक्वेस्ट देखे सम्राट जोशी नाम बाट एसो हेरेर accept गरे उसलाई offline देखाएको थियो। मेसेजमा दाई तपाईं सङ्ग महत्वपूर्ण कुरा गर्नु छ भनेर लेखेको थियो उसले। मैले कोही चिनजानकै मान्छे हो कि भनेर profile खोलेर हेरे तर देखेको जस्तो लागेन। about मा चेक गरे, past BKVM स्कुल थियो। मैले के कुरा हो त्यस्तो हुन्छ भै हाल्छ गरौ न भने। उ offline बसेको मात्र रहेछ रिप्लाई अाइ हाल्यो भेटेर कुरा गर्न पाए हुन्थ्यो भन्यो। झट्ट सम्झे आज भोली अवस्था ठीक छैन, फेरी लेखे- म सङ्ग समय धेरै कम पुग्छ त्यसको लागि के हो यतै भन्नुस् न। उसले अब फोन नम्बर दिनुस् न त उसो भए भनेर मेरो फोन नम्बर माग्यो। मैले पनि फोन गर्छ होला भनेर सहजै नम्बर दिए। उसले नम्बर पाउनसाथ यस्तो मेसेज पठायो- "म र निहारिका एउटै कक्षामा पढ्थ्यौ BKVM मा, तपाईंको यो कथाको दोश्रो भाग साथी मार्फत पढ्न पाए, तपाईं अत्यन्तै राम्रो स्केच गर्ने भएकोले मलाई अझै नाम याद थियो। फेरी भाग १ पनि साथीलाई नै खोज्न लगाएर पढे। म सङ्ग निहारिका १ बर्ष देखी फेसबुकमा फ्रेण्ड छ, मैले लभ परेको छ कि क्याहो भनेर यो कथा साथीको बाट मेरोमा पठाएर उसलाई पठाएँ। उसले आकाश सँग मेरो संपर्क छैन मैले ब्लक गरेकी छु। जसरी पनि यही कथा मार्फत फोन नम्बर मागेर मलाई दिनु भनेर आशु झारेको ईमो पठाइ। मैले नम्बर पठाइ दिएको छु। कल आउछ होला बाई" म आत्तिए! पढिसक्ना साथ उसलाई मलाई निहारिकाको नम्बर मलाई देउ नत भनेर लेखेर पठाएँ तर रिप्लाई आएन। 
क्रमश:

प्रेम लुकेको हुन्छ (भाग-४) अन्तिम भाग
सम्राटको त्यती मेसेज र मैले निहारिकाको नम्बर माग्दा नदिएको उत्तरले मलाई धेरै कुरा सोच्न वाध्य बनायो। कथाको भाग-१ र भाग-२ पढिसकेर धेरै पाठकले मलाई सत्य र असत्यको बारेमा धेरै प्रश्नहरु पनि गर्नुभएको थियो, सम्झे कसैले मलाई त्यतिकै छल्ने प्रयास त गरिरहेको छैन। निहारिका अझै मलाई नै खोज्दैछिन भने मलाई फेसबुकमा ब्लक गर्नु पर्ने कारण चाँही के? फेरी कसैले मलाई सहयोग गरिरहेको होला मेरो ब्यथा देखेर म चै उल्टै उसैलाई नराम्रो सम्झीरहेछु किन? केही भयो होला उनलाई पनि त्यही त फोन नम्बर सम्म खोजेकी छन त! भनेर आँफैलाई सतर्क पनि गर्थे। दोधार मनले दुबै कुराहरुलाई बराबर समर्थन गरी रह्यो। दिनभरी यही कुरा मनमा खेलिरह्यो। 
बेलुकाको ५ बजेतिर कोठामा एक्लै बसिरहेको बेला एउटा नयाँ नम्बर बाट फोन आयो, दिउसै देखी फोन आउला कि भनेर सतर्क म नयाँ नम्बर देख्न साथ झस्किए। फोन उठाए- "हेलो"
एक्छिन केही आवाज आएन। फेरी बोले- "हेलो, को बोल्नुभयो?"
अली डराएको लजाएको जस्तो आवाज आयो- "म निहारिका"
यती सुन्न साथ आँफै बोली फुत्कियो- "ए तिमी"। उताबाट उनी अघी रुन थालिसकेकी रहिछन, मलाई पनि त थामीनसक्नु भैसकेको थियो। आवाज निकालिन आशु भने झर्दै गए। उताबाट उनी घुक्क घुक्क गरीरहेकी थीइन। २ मिनेट सम्म एउटा पनि सम्बाद भएन। भर्खर फुटेको ज्वालामुखी झै आखाबाट झरेका मेरा आसुले अनुहार पुरै भिजाएर घाटिसम्म पुगे तर कुनै आवाज निकालिन। उनको त झन रुन छाडेर बोल्न खोज्ने कुनै सङ्केत नै थिएन। म आँफै सम्हालिएर उनलाई सम्झाउने प्रयास गरे- "प्लिज निहारिका यसरी रोएर मलाई धेरै लज्जित नबनाउ, यस्तो तिम्रो रुवाइले मलाई धेरै दु:खाउछ, सियोले घोचे जस्तै।"
अझै रुईनै रहेकी थि उ रुदै भनी- "म नरोएर के गरौ त? मेरो यो भन्दा अरु अब के गर्नु छ र?" उनको त बोली पनि अर्कै भएछ छुट्याउनै गार्हो। 
सम्झाउदै भने- "त्यसो नभन कहिले काही त्यस्तो लाग्छ। तर अब भयो नि त राम्ररी कुरा गर न... रुनु मात्र सबै कुराको अन्तिम समाधान हैन।" अली चुप लागिन उनी। फेरी एकछिन सम्बाद रोकियो। 
रोकिएको सम्बादलाई अघाडी बढाउदै मै बोले- "अब भन के छ खबर?" सोध्न त म सँग प्रश्नका थुप्राहरु नै लगाए पनि पुग्ने गरिका प्रश्नहरु थिए तर सकेसम्म अौपचारिकता निभाउने प्रयास गरे। उनले "सबै ठिकै छ" भनिन अनी "अहिले कहाँ छौ बबा ममीलाई के कसो छ? तिम्रो पढाई कहाँ पुग्यो? के पढ्यौ कस्तो गर्यौ?" भनेर एकै पटक लामो प्रश्न गरिदिए।
उनले मेरो बारेमा अरु कुनैबेला कुरा गरौला लामो कथा छ भनेर रुन्छे पारामा फेरी रौला जस्तो गरिन। मैले किन के छ र त्यस्तो भनेर जिज्ञासा देखाए तर उनले त्यस्तो केही हैन भनिन। फेरी मैले मलाई फेसबुकमा मलाई ब्लक गरेकी रहेछौ त किन भनेर अर्को प्रश्न तेर्साइदिए। म चाहन्थे कि उनले जतिसक्दो छिटो मेरा अनेक प्रश्नहरुको चित्तबुझ्दो उत्तर दिएर मेरो बर्षौ देखी उनैको याद र खोजिमा तड्पिएको मनलाई हलुका बनाइदिउन, काडो झिकेपछिको हात जस्तै। तर यो प्रश्नको उत्तरमा मौन बसिन उनी, गल्ती स्विकारेको भावमा यसो भनिन भरे म अन ब्लक गरेर मेरो कथा छोटकरिमा लेखेर पठाउछु पढेर आँफै बुझ्नुहोला तर कुनै रिप्लाई गर्न पाउनुहुन्न। अरु कुरा फोनमै गरौला। यती भनिन। मैले पनि किन भनेर प्रश्न गर्न सकिन। अब अरु केही सोध्न बाँकी रहेन। मैले हुन्छ तिम्रो कथा पढिसकेर अरु कुरा गरौला भने। त्यसपछी बिदा भयौ। 
मलाई मनमा ठुलो खुल्दुली भै रह्यो, के कुरा होला त त्यस्तो भनेर। उनलाई त्यस्तो केही त भएन भनेर मन चिसो भईरह्यो। बेलुकाको खाना खाएपछी कतै मलाई अन ब्कल पो गरीन कि भनेर हजारौ पटक चेक गरिरहेको त्यही नाम पुन: चेक गरे। त्यही हामी दुबै प्रथम भएपछी भेडेटारमा खिचिएको फोटो प्रोफाइल पिक्चर राखिएको एकाउण्ट फेला पर्‍यो। त्यो देख्ना साथ फेरी रोए, कसैले नसुनोस भनेर बाहिर ठुलो वोलुममा एउटा गीत बजाइदिएर। हतार हतार प्रोफाइल खोलेर हेरे विवाहको फोटाहरु थिए उनैका... यो सब देखेपछी म माथि आकाश खसेजस्तो भयो, ठुलो अजङ्गको भारले मलाई मिचेजस्तो भयो। कुन शब्दले बर्णन गरु त्यो क्षण म सक्दिन अह! सक्दै सक्दिन कसैले मलाई घाटिमा भुत्ते हतियारले रेटिरहेछ जस्तो लाग्यो। अब के नै बाँकी थियो र फेरी आशुको खोलानै बग्यो रुहिरहे यत्तिकै त्यो बिगतको उनको र मेरो प्रोफाइल पिक्चर अनी विवाहअको फोटो हेर्दै। एक मनले त उनिमत्र हैन सबै महिलामाथि घ्रिणाको भाव अतिनै देखायो तर मलाई अझै उनको त्यो कथाको पर्खाइ थियो, पाउनु र गुमाउनु त के नै बाँकी थियो र । सपना टुक्रिसकेका थिए बश! उनिबाट मेरो मन सम्हालिन सक्ने उत्तरको प्रतिक्षामा थिए। 
बेलुका ९ बजे तिर उनैको नामबाट लामो मेसेज आयो। रुन त अझै पुगिसकेको थिएन मलाई म यत्तिकै आसु झरेर कमजोर भैसकेको थिए। जसो तसो उनको मेसेज पढ्ने प्रयास गरे। मेसेजमा यस्तो लेखिएको थियो- 
"यो सब पढेर मलाई सक्नु हुन्छ भने माफ गरिदिनु। तपाईंका अघिल्ला भागका कथाहरु पढेर म दिन रात रोइरहेकी छु। बिराटनगर छाडेर सुर्खेत गएको दशै पछी बाबा बाइक दुर्घटनामा परेर बित्नु भयो हाम्रो बाच्ने साहारा गुम्यो, त्यसपछी बियोगमै ममी र म फेरी खोटाङनै फर्क्यौ। मलाई पढाउन सक्ने कमाइ ममिसँग कुनै हालतमा हुँदैन थियो। सबैले अब गाउमै बस यसलाई यही सरकारी स्कुलमा भर्ना गरिदिनु भनेर ममिलाई सम्झाए। अन्त्यमा ममिले त्यही निर्णय लिनुभयो, १-२ महिना हजुरबुवा हजुरआमाकामै बस्यौ, अनी थोरै तिनु बैन्कमा भएको पैसाले त्यहा बाँकी रहेको थोरै बारीमा सानो घर बनायौ। ममिले सक्दो दु:ख गरेर पढाउनु भयो, ११, १२ दिक्तेलमै management पढे, पढ्नलाई अंकल र सर हरुले धेरै सहयोग गर्नु भयो। तपाईंलाई कती सम्झन्थे त्यो शायद तपाईंको सम्झना भन्दा कम थिएन, साच्चै! म तपाईंलाई प्रेम गर्थे, मनबाटै माया गर्थे तर तपाईंले पनि त भन्नु भएन नि। म सँग एउटा मोबाइल नि थिएन न त संपर्क गर्नलाई तपाईंको नम्बर। १२ सकेपछी घरमा गाउकै धनीमानी मान्छेको घरबाट सम्बन्ध जोड्ने प्रस्ताव आयो सुरुमा त म जसरी भएनी पढ्छु भनेर मानिन तर सबैले कराउन थाले तेरो भाग्य खुस्केको अभागीनी! भनेर।तर अझैपनी गाउ घरमा महिलाको स्थिती कस्तो छ थाहा छदैछ तपाईंलाई, पुरुषको अगाडि को बोल्ने हिम्मत गर्छ र। मलाई अभागिनी भएपनी तपाईंसँग यो प्रेम खुलेर भन्न मन थियो। मैले तनावमा आत्महत्याको उपाय पनि नसम्झेकी होइन तर ति एक्ली आमाको मायाले दिएन। बिरक्त भएर आफ्नो कर्म र भाग्यलाई ठोक्दै अन्त्यमा विवाह स्विकार गरे। धेरै सतायो तपाईंको यादले। विवाह भएको १ बर्षजती भयो। विवाह पछी श्रीमानले नै खोल्दिनु भएको फेसबुक। म अर्कैकी भैसके पछी अब के नै देखिनु बाँकी थियो र तपाईंको अगाडि त्यसैले हाम्रो बिचको सम्बन्ध यत्तिकै सेलाओस भनेर तपाईंलाई ब्लक गरी दिए। अझैपनी माया धेरै तपाईंलाई नै गर्छु होला तर अब मलाई यि सबै सम्बन्ध नै ठीक छन। तपाईंलाई सफल जिन्दगीको शुभकामना।"
पढिसकेर झन रोए। टाउको ठोके धेरै पटक भित्तामा फुट्नेगरि। एक मन त ति सबै पुरुषहरुलाई भेला पारेर एकै चिहान बनाउन जोस्सिरहेको थियो। तर यसरी परिवर्तन हुन्न भन्ने सम्झिए। के गरौ कसो गरौ अब जस्तो भैरह्यो रातैभरी निन्द्रा लागेन। फोन गरेर अब एउटी विवाहित नारिको घर भाड्न मनले दिएन, रोइदिए यसै बरु। बिहान उनैको फोन आयो। मलाई अब आफुलाई सम्हाल्नु पर्ने थियो- धेरै सम्हालिएर भने- "ठिक छ, यो समयको खेल थियो, सुखद बैबाहिक जीवनको शुभकामना।" उनले केही जवाफ फर्काइनन मैले यसै फोन राखिदिए। फेरी चिच्चाएर रोए, आँफैलाई पखाल्ने गरी। 
अब बिर्सने प्रयासमा छु उनलाई।

समाप्त। 
 समर्पण- माया गर्ने सबैलाई।
नोट: महिलाका पनि आफ्न ईच्छा र उदेश्यहरु हुन्छन त्यसैले बार लगाउनुभन्दा सहयोग गरौ उनिहरुको पनि भावना बुझ्ने गरौ। 
 -आकाश जङ्ग कट्टेल 

Comments

Popular posts from this blog

"गार्डन अफ ड्रीम्ज" डायरी!

सपना भाग-११