"गार्डन अफ ड्रीम्ज" डायरी!

फाल्गुनका दिनहरु! सेतो गलबन्दी लगाएर टल्किरहेछ जुगल हिमाल। बादलको सिरक ओढेर सुतेको छ काठमाण्डौं। लमतन्न तेर्सिएका छन रोडहरु। रोडकै काखमा लखतारन परेर ट्रक र ट्याक्सिहरु निदाएका छन। सायद सपना देख्दै होलान। भर्खरै उठेका छन बसपार्कका बसहरु। रुखहरु सिरेटो खप्दै उभिएका छन। सहचालकहरु चुरोट उडाउदै रुखजस्तै उभिएका छन, बसको ढोकामा! छेउबाटै आएको बसले केही मान्छेहरु छादेर गयो।
"दाई बस्नुस, गैहाल्छ" सहचालक हजारका नातीनातिनाहरु पट्याउदै बोल्छ।
सुनेको छु यी ड्राईभरहरु नोट पट्याएझैँ पट्याउछन केटीहरु!
म बसको भुँडीभित्र छिर्छु। जसरी लुसुक्क परेर चोकको चटपटे मेरो पेटभित्र पस्छ। र उत्रन्छ बिभिन्न शौचालयहरुमा!
बसको अघिल्लो भागमा केही महिला सिटहरु छन। हैन सिटहरु त सफा छन तर महिलाहरुका लागि हुन। म पनि कहाँ सफा छु र! आँखाका ढलहरु फुटेर रातभर ओठको मुस्कान बगाएर लगेका छन। दिलमा पहिरो गएर उनका यादहरु मनैभरि छरपस्ट छरिएका छन।
म सिटमा बसेर रुमालले अनुहार पुस्छु, मोबाईलको। र हेर्छु पुरानो अनुहार! अझैपनी छे त्यही मुस्कानमा हिमाल बोकेकी मान्छे मोबाईलको स्कृनमा। हेरिरहन्छे मलाई एकनासले! थोरै लाज थोरै मुस्कानको होली खेल्छे म सँग। नजरका पिच्किरीहरु मेरो छातीमा हान्छे। लाजका लोलाहरु मेरो अनुहारमा टासिन्छन!
गौशालामा बस कुर्नु पर्छ। रत्नपार्क जस्तो हैन बसले मान्छेहरुलाई कुरिरहने। भोकाएको बसले केही जोडी केही बिजोडी मान्छेहरु निल्यो। छेउमा भएकी आमाले स्टुडेन्ट कार्ड देखाईन, छोरिको। ५ रुपैयाँ बचाईन। मलाई आमाले आफु नखाई-नखाई बजारबाट मिठाई र लुगाहरु ल्याईदिने आमाको याद आयो! मन अमिलो भयो, निम्बु निचोरेझैँ। कसले भन्यो- भावनाहरुको कुनै स्वाद हुदैन? यादहरुको स्वाद अमिलो हुन्छ, प्रेम सबैभन्दा घुलनशिल पदार्थ हो, अनि पिडाले सेतो सिरानीको रङ्ग परिवर्तन गर्न सक्छन!
बस गुडिरहेको छ नजर उडिरहेको छ रोडका पसलहरुमा, हिँडिरहेका मानिसहरुकहाँ। चिया बेच्ने मान्छेहरु चोकचोकमा छन। सायद कुनै कुराको फिक्स्ड रेट छ भने त्यो चियाकै छ। कुर्ता लगाएकी मेरै उमेरकी महिला घोलीरहेछिन चियामा कलकलाउदो जवानी! म च्याटबक्समा शब्दहरु घोलिरहेको छु! पहिले मायालुलाई मिठो माया पकाउँथे। उनी मीठो मानेर पिँउथिन मेरा वाक्यहरुलाई।
चियापसलमा पिउने पियक्कडहरुको घुईँचो छ।
"चियाको २० रुपैयाँ" कराउँदैछन।
"पुरै हेरेको कति लिन्छिन होला?" धत् के सोचेको, सर्माउछु म।
छेउको चियापसलमा एकजना बुढामान्छे छन। तर छैनन ग्राहक! किनकि उनिसँग जवानी छैन। खुद्रा व्यापारमा दिल भएर मात्र कहाँ हुन्छ शरीर पनि चाहिनेरहेछ।
मकै पोल्ने आमा मकैसँगै आफ्ना मायालु मुस्कानहरु बेच्नुहुन्छ। र किन्नुहुन्छ छोराछोरीका किताब, कपी र खुसीहरु! म सँग त एक मान्छे यादहरु मात्र छन तर बिक्दैनन!
छट्पटी थियो दिलमा। अनि थिए केही मायाले जलाएका भग्नावशेषहरु! केही पालुवा फेर्न नसकेका चाहानाहरु थिए। केही निको नभएका घाउहरु थिए। दिल त भन्नुमात्र आफ्नो तर हुने त अर्काकै रै'छ।
"कता तिमी?" मेरो च्याटबक्सको चियापसलमा कोहि ग्राहक आयो।
उनि त्यही पुरानै ग्राहक हुन। जो सँग मेरो मायाको उधारो कारोबार थियो। मैले दिल बेच्न सकिन। घाटा मलाई नै भयो।
"केशर महल!" बताउँछु म। चिसो बतासले केशर महल काँपिरहेको थियो। म उनलाई भेट्ने हतासमा म काँपिरहेको थिएँ। सायद बसमा काँतर सिट हुन्थ्यो त म त्यहाँ गएर बस्दो हुँ।
"अनि तिमी?" सोध्न छुटाएछु। सोधेँ।
"तिम्रो दिलको महलमा"! जिस्किन्छे उ।
"उस.. नढाँट, के थाहा कति जनाको दिलमा बसेकी छौ"। म प्रत्युत्तर खोज्छु।
"है! खुब जानेको छौ, आफुलाई हेरेको छौ"। मोहनी छ उनको आवाजमा!
"अँ, भर्खरै हेरेको थिएँ एउटीको आँखामा" म इत्रिदिन्छु। उ फोन राख्छे।
उसलाई भेट्नुछ "गार्ड्न अफ ड्रीम्स" अर्थात स्वप्नबगैँचामा। जलाउनुछ केहि सपनाहरु मुटुको चितामा आशुको मट्टीतेल खन्याएर। किनकी अब उ मेरो रहनेछैन। रहनेछन त केवल प्रेमका अमिट खाटाहरु।
उ स्वप्नबगैँचामा कुरिरहेकी थिई। म उसलाई देख्न पाउँदाका केही खुसी र बिछोडका केही दुखहरु घोलिएको किन्चित हाँसो हाँसे!
मलाई थाहा थिएन। हामीले बर्षौँ लगाएर जन्माएको हुर्काएको प्रेम यति चाँडै बेसहारा बन्ला भनेर! अन्त्य कती छिटो र कति घातक हुँदोरहेछ।
यदि प्रेम वर्षा हुन्थ्यो त म तिमीलाई समुन्द्रतिर देखाएर भन्न सक्थे म तिमीलाई कति प्रेम गर्छु भनेर। यदि प्रेम बादल हुन्थ्यो त म तिमीलाई आकाशतिर देखाएर बुझाउन सक्थे। प्रेम एक शब्द भए मेरा लाखौँ च्याटहरुले तिमीलाई यसको अर्थ बताईसक्थे। प्रेम बादल हैन धुवाँ रहेछ, वर्षा हैन आँसु रहेछ। प्रेम आकाश हैन निराशा रहेछ।
छुट्ने बेलामा मैले आशुले भिजेका हातहरुले उनको छाती ठोक्दै उनलाई अङ्कमाल गरेँ। भक्कानिन्छु अझै। खैर! रोएर हुनेवाला के थियो र? उनले बदलामा वश बिदाईका हातहरु हल्लाईन।
मलाई आश्चर्य लाग्यो आफ्नै प्रेम देखेर! के मेरो रगत रगतमा बगेका भावनाहरु उसको रगतमा बग्दैनन होला र? किन माया यति स्वार्थी हुन्छ? के सम्पुर्णता पाउँछ मान्छे र माया गर्छ फेरि के अपुर्णता पाउँछ उ छुट्टिन चाहन्छ?
बाटोमा फर्किरहँदा एक झोक्का हावाले गालामा पिटेर जान्छ। सोच्छु यस्तो लाग्छ हाम्रा जस्तै कयौं अनाथ प्रेमहरु हावामा उडेका छन कतिले आमा त कतिले बाबू गुमाएका छन!
फेसबुक खोल्छु र लेख्छु एउटा स्टाटस-
"आज फेरि चर्किएका घाउहरुले तिमीलाई सम्झिए। तिमी अर्कै प्रेमीको प्रेममा मगमगाईरहेको हौली। थाहा छ, यी यादहरुले मिसकल गर्नेछैनन गरिहाले पनि तिमी फर्काउने छैनौ। किनकी हामीबिचको नेटवर्क अनरिचेवल भैसकेको छ। एस्ट्रे तिम्रै यादहरुले भरिएको छ, म भावनाको खिल्लीमा सपनाहरु भरेर सल्काउदै छु!"
तत्कालै ब्लक गरिदिन्छु फेसबुकबाट उसलाई कारण म उसलाई हेर्न चाहान्न हैन हेर्न सक्दिन। देखेपछी मन बहुलाएर आउँछ, नदेखेकै जाती। मन न हो रातभरी पुराना यादहरु दिलाइरहन्छन!

Comments

Popular posts from this blog

प्रेम लुकेको हुन्छ!

सपना भाग-११