नोकर्नी- कथा



झल्यास्स! ब्युझिए। 
बिहानको ४ बज्न लागेको रहेछ। कस्तो निन्द्रा हो यो बाहिर अली ठुलो आवाज थोरै पनि सुन्न हुन्न! खुली हाल्छ। केही भयो केही सुन्यो होला मेरो कानले तब न निन्द्रानै खुल्यो। एकछिन ध्यान दिएर सुनिरहे। सानी केटी रोएको आवाज आयो। म उठेर बसे। छेउमै सुतेको साथी पनि त्यही रुवाइको आवाजले ब्युझिसकेको रहेछ। भन्यो- "बिचरी! त्यो फुच्चिलाई आजपनी मालिक्निले कुटी छ।" मालिक्नी अर्थात मालिककी श्रीमती अनी कसैकी आमा, कसैकी कलिलो उमेरकी सन्तानलाई एकबिहानै पिटिरहिछ। शायद! यो त्यही एक आमा हो जो आफ्नो बच्चालाई कसैले छोयो भने मात्र पनि कुकुर झै झम्टन्छे। फुच्ची केही लुकाएको स्वरमा रुइरहेकी थीइ यो रातमा। लुकेर म जस्तै गरि सुन्ने कोहि थिए कि खै! तर नानि बाबा भन्ने कोहि थिएनन। 
हाम्रो सम्बोधन बाट "फुच्ची" भनिएकी यो पात्र हाम्रो मुखबाट मात्र फुच्ची भनेर चिनिन्छे। यसको असली पहिचान त कसैकी छोरी, कसैकी बहिनी,कसैकी दिदी आदी ईत्यादी भन्दा पनि बढी कसैकी "नोकर्नी" भनेर चिनिएको छ। भन्न त भनी टोपल्छे नि बिचरी! मेरो नाम मन्जु हो भनेर! तर "मन्जु" नामको अर्थ जतिसुकै राम्रो भएपनी त्यस घरका सबैका दिमागी शब्दकोशमा उसको नामको अर्थ "नोकर्नी" नै हो। पैसाको सिरानी लगाएर सुतेका कानलाई त्यो नाम कानभित्र पुगेपछी "नोकर्नी" मै परिवर्तन भएर सुनिन्छ। अनी उ उसलाई हरेक नोकर्निका भावमा बोलाइएका सबै "मन्जु" मा मात्र "मन्जु" सुन्छे। धेरै शब्दहरु भावमा लुकेका हुन्छन, त्यहा उसलाई बोलाइने "मन्जु" मन्जु मात्र हैन "नोकर्नी मन्जु" हो। यसै सम्झन वाध्य हुन्छु! उसका बुवाआमा जसले उसको नाम कत्रो सपनाका साथ मन्जु राखेका थिए होलान! या त्यसै राम्रो लागेर। उत्तर जटिल बन्छ। मलाई त्यो रुवाइले पटक्कै निन्द्रा दिदैन। म उठेर जुनेली रातमा त्यही घरतिरै झ्यालको सिसा खोलेर हेरेर बसिरहन्छु। मालिक्नी घर पछाडिको गेट खोलेर बन्दै गरेको रोडमा फालिएका ईट्टालाई चोरि अौलले यो सप्पै हाम्रै हो सबै टिपेर भित्र ले भन्दै थीई बिचरी! हुक्क-हुक्क गर्दै ईट्टा ओसार्दै थीई। 
अनामनगर चोक बाट भित्र छिरेपछी ५ मिनेट जती हिड्दा हाम्रो कोठा पुगिन्छ। हामी तेस्रो तल्लाको बाटोपट्टिको कोठामा बस्छौ। घरको ठीक अपोजिटमा एउटा दुई तल्लाको रातो रङ पोतिएको रङ्गिन घर छ। छतमा प्रसस्तै फुलका गमलाहरु राखिएका छन। तर के रोपिएको छ कुन्नी! फुल त पक्कै हैन किनकी आज सम्म केही फुलेको देखेको छैन मैले। छतमा पनि २ वटा कोठाहरु छन। घर वरिपरि खुल्ला जमिन छ चिटिक्क पारेर सफा गरिएको। त्यही घरकी नोकर्नी हो मन्जु! हामी यो कोठामा आउँदा पनि त्यही घरमा थीई। झ्यालै अघाडी घर पर्ने भएकाले देखादेख भैरहन्छ। पहिला पहिला हामीलाई हेर्दै हास्ने उसलाई हामी पछी बिस्तार बिस्तार झ्याल बाटै जिस्काउथ्यौ यत्तिकै। यही घरको भुइ तल्लाको पशल अनी अगाडिपट्टिको चटपटे खान जादा कहैले त्यतै उभिरखेकी हुन्छे उ। छ भने २० रुपैया दिएर भैया पानी पुरी दिनु है भदिन्छु कहिलेकाही। उ खुशीमा मुसुक्क हासेर म तिर हेर्छे म पनि मुस्कुराउदै आफ्नो कोठातिर लाग्छु। 
कहिले उ दिउसो कपडा धोईरहेकी हुन्छे। कहिले हिल्टेक भित्र पसेर सफा गरिरहेकी हुन्छे। कहिले छतमा पानी हालेर बडारिरहेकि हुन्छे। कहिले सकी नसकी भित्रका ठुला साना कपडा सुकाउदै भित्र बाहिर गरिरहेकी हुन्छे। यस्तैमा उसको दिनचर्या बितेको देख्छु। रातको त्यो द्रिश्य देखेपछी थाम्नै सकेको थिईन आँफैले आँफैलाई। दिउसो त्यसैगरि झ्यालमा निस्कदा तलको पसलमा निस्किएकी रहिछ। धेरैकुरा सोध्न मन थियो म हतार-हतार झरे। उसको नाम र घर त पहिलेनै सोधिसको थिए अरु अरु कुरा सोधे। 
त्यो घरकी उसकी मालिक्निले दुई बर्ष अगाडि उसलाई दैलेख बाटै २ मा पढ्दा-पढ्दै ८ बर्षकी हुँदा ल्याएकी रहिछ। काठमाडौं मै पढाईदिन्छु भनेर। उसले पढाई त के स्कुल जाने बाटोसम्म देखेकी छैन शायद अहिलेसम्म। अहिले १० बर्षकी भए भन्थी। उसको बोलीचाली यती गज्जबको छ कि जो सुकै सँग पनि लाज नमानी निडर भएर हल्का मुस्कान दिएर बोल्छे। म मनमनै सोच्छु यती सानो जिउ अनी दिलभित्र त्यात्रो पिडा कहाँ लुकाएर राखेकी छ। यो घरका बाउ पहिला सिडिओ थिए रे अहिले मृत्‍यु भैसकेको रहेछ। उसको पनि बुवा हुन्हुन्न बित्नु भएको भनी। घरमा दिदी र ममी हुनुहुन्छ रे। अनी यो घरको छोरा चाँही नेपाल पुलिसका ईन्स्पेक्टर रहेछन बेलाबेला आउजाउ गरेको त मैले पनि देखेको थिए। सबैकाम म आँफै गर्छु यहाँ भन्दै अलिकती नमिठो अनुहार लगाइ। 
यो घरमा एक अनौठो परम्परा छ। बिल्कुल नयाँ र नौलो लाग्छ मलाई। रातको ३ बजे घरमा भ्याकुम लाग्न सुरु हुन्छ। अनी पानी तान्ने कलको आवाज आउछ। मालिक्निको मुखबाट सधैं जसो हकारेको स्वरमा "मन्जु" नाम पनि यही रातिको ३ बजे बाट सुरु हुन्छ। भन्दै थीई सबै घर पुस्न पर्छ उठेर अनी भ्याकुम लगाएर पूजाको सामाग्रिहरु ठीक्क पार्नु पर्छ धोएर। सबै त ठिकै थियो त्यही राती फुलमा पानी हाल भनेर सम्म पेलिन्छे बिचरी! अनी चिया पकाउने देखी के-के भन्दै थीइ मैले सुन्न सकिन। बेलुका पनि त्यस्तै गर्न पर्छ रे ६ बजेभन्दा अगाडि अनी मालिक्निले पूजा गर्नुहुन्छ भन्थी। उसलाई काम गरेबापत पढाईदिन्छु भनेर ल्याकी रे। मैले अन्त्यमा पढ्न मन लाग्दैन भनेर सोधे- उसले कती लाग्छ नि तर मालिक्निले पढाउने भन्दै पढाउनु चै हुन्न भन्दै हिडि। 
 कुन धर्म हो त्यो मालिक्निको खै जुन धर्मले कसैलाई शिक्षा दिक्षा दिन हुन्न नोकर्नी बनाएर पाल्नु पर्छ भनेर सिकाएको छ। मनमा र ब्यबहारमा पाप बोकेर दिनको १०० चोटि घण्टा बजाएर कही धर्मी भइदैन होला शायद। धर्म भनेको भगवानको आस्था हैन हाम्रो सफा ब्यबहार हो। ढुङ्गा ढोगेर धर्म कमाइने भए हरेक मन्दिरका रोगी र भिखारिका कुनै समस्या हुने थिएनन। अहिले यो लेख्दा पनि त्यही घण्टिको आवाज सुनिरहेको छु, भित्र भित्रै कालो बादल मडारिएर आउछ तर रोक्न वाध्य छु। सत्य हो, साच्चिकै धर्म गर्नेनै हो भने घण्टा बजाउने ति हातले हातेमालो गर्न सिक्नु पर्छ होला। मन्दिर कोही बाध्यताले पुग्छन अन्तिम आश्रय र जीवन गुजार्न, कोही जिन्दगीमा प्रगती गर्न नसकेर पुग्छन सफलता माग्न। लोभिहरु! कुन धर्मले भन्छ लोभ गर्न खै। अनी यो बिचरीले के ढोगेर आफुलाई यो पिडाबाट मुक्त पार्न सक्छे होला, अनी उसकी आमाले आफ्नी "मन्जु" साच्चिकै मन्जु भएको देख्न पाउछिन म उतार बिहिन भएर सोचीरहन्छु। धर्म मनको मन्दिरमा हुनु पर्छ ढोगेर पाइदैन। 
हाम्रो शिक्षा र ज्ञानले ठुलो मान्छे त्यसलाई भन्छ कि जसले आफ्नो घरमा ५-१० जना ब्यक्तिलाई अशिक्षित अनी नोकर बनाएर राख्छ। सबैभन्दा मलाई उसको हर्कतले यतिबेला छुयो जतिबेला उ आज एउटा इन्पेक्टरको छोरा र अर्को अर्को छेवैको घरको भाईलाई छतमा लगेर दुइपट्टी अङ्गालो हालेर सोध्दै थीइ "तिमी कुन स्कुल पढ्छौ अनी तिमी?" शायाद उ आफ्नो तिब्र इच्छालाइ यसरी पोख्दै थीइ। मैले त्यो उसैले बोकेका इट्टा तिर हेरेर छक्क परे "बडो रास" बनाएकि रहिछन। 
ईन्स्पेक्टर छोरो आफ्नी आमालाई दु:ख हुन्छ भनेर नोकर्नी राखिदिएर कहाँ नोकर्नी राखेको बिबादको इन्साफ र सजाय दिलाउदै होला, सच्चा! देशभक्त हुँ भनेर। 
समाप्त।

Comments

Post a Comment

Popular posts from this blog

"गार्डन अफ ड्रीम्ज" डायरी!

प्रेम लुकेको हुन्छ!

सपना भाग-११