नेपाल यातायात डायरी
नेपाल यातायात
भाद्रको महिना थ्यो त्यो। सिमसिम पानी पारीरहेको थियो। म
सुकेधाराको यात्रु प्रतिक्षालयमा, ८-९ जनाको झुण्डमा
उभिइरहेको थिए, त्यसमध्ये केही ओत पनि लागेका थिए होलान मेरो
ठम्याइ अनुसार। एक जना ७०-७५ बर्षका बृद्ध मेरो छेवैमा थिए। बुडा पानी परेकोले ओत
लागेका हुन या बस नै कुरेर बसेका हुन ठम्याउन सकेको थिइन।
हु...ई...य.. नेपाल यातायात आयो ४ ५ जना चढ्नलाइ जुर्मुरिए। ति बृद्ध पनि अघी सरे। हामी सबै छिर्दा सम्म एउटा महिला सिट बाँकी रह्यो। बिचरा! बुढो मान्छे पहिले पनि केही नराम्रो मामिलामा परेजस्तो गरेर अनौठो नजरले सिटलाई हेर्दै उभिरहे। मेरो मनले मानेन यता बृद्ध सिटमा ६० कटेका जस्ता देखिने दौरा सुरवाल लगाएका अर्का ब्यक्ती थिए अपाङ्ग सिट्मा पनि आँखा गईहाले तर त्यहा बसेका ब्यक्तिको हातमा हातमा प्लास्टर देखियो। शायद यती काम मैले २० सेकेण्ड भित्रमा गरिसकेको हुदो हुँ। आँफै बोले-"बा यहाँ सिटमा बस्नुस् न!" म भन्दा पछाडि म जस्तै २-४ जना युवा उभिरहेका थिए। केही बोल्न खोजेजस्तो गरेपनि मेरो नम्र आग्रहलाई स्विकारे। उनले भन्न खोजेको कुरा शायद यही थियो मेरो आकलनमा- "बाबु यो त महिला सिट हो!" तर भन्न सकेनन।
मैले पनि पुतलिसडक झर्ने बेलामा सिट पाए। पुतली सडकमा फेरी त्यस्तै बृद्दालाई लिएर एक युवती चढिन र त्यही सिटतर्फ हेर्न थालिन। बुढो मान्छे अली अफ्ट्यारो माने जस्तो गरे। बाँकी सबै सिटमा युवती चढेका भएपनी कसैले वास्ता गरेनन। म आँफै उठेर सिट छाड्दै "आमा यहाँ आएर बस्नुस् भनेर भने, पातलो बुढो जिउ कमाउदै युवतिको साहरामा खुट्टा चलाएर आएर बसिन।"
अब मलाई महिला सिटको बृद्धलाई हेर्नु थियो। मैले ति बृद्धलाई मेरो सिटमा राखेर बृद्दालाई महिला सिटमा राखिदिएको भए कुरै सकिन्थ्यो तर मलाई आफ्नो हक अधिकारका लागि लड्ने नेपाली महिलाहरुको सक्कली रुप हेर्न मन लाग्यो। बस न्यु प्लाजाको अगाडि रोकियो। म बृद्धकै सिटमा अढेस लागेर उभिरहे। त्यहा बाट चढ्नेहरुलाई पछाडि जान दिदै। एक दुई महिला बृद्धलाई हेर्दै पछाडि गएर पनि उभिए। अचम्म यतिबेला भयो कि जव एक २०-२२ बर्षकी पेन्ट टिसर्टमा जवानी सजाएर हिंडेकी एक शहरीया युवतिले अङ्ग्रेजी भाषाको लवजमा यसो भनिन- "अंकल यो महिला सिट हो उठिदिनुस न!"
यो आग्रहमा जती नरम भाषा प्रयोग गरिए पनि यो स्थान र अवस्थाका कारण अती क्रुर थियो। अनी बृद्धलाई जवान देखाउनु छ भने अंकल भने भैहाल्ने? मेरो रिशको सिमा रहेन। तैपनी नरम स्वरमै भने- "प्लिज हजुर उभिदिनु न है उहा अशक्त हुनुहुन्छ।" मतिर सन्किएको भावमा हेरी र अर्कोतिर फर्कदै "हाम्रो सिटमा बस्या छ...... " के-के भनीन मैले सुनिन। छेउका सबै महिलाहरु आँखा तिखो बनाउदै यो सब हेरिरेहे।
बृद्धले मलाई नाम,घर,पढाइ,काम सबैका बारेमा सोधे अनी राम्रो गर्नु अझै भनेर आशिर्वाद दिए। म अवाक भए केही बोल्न सकिन। बृद्धसँग बिदा माग्दै बानेश्वरमा उत्रिए आफु कोटेश्वर उत्रने बताउथे।
अधिकार सबैका लागि हुन्छ। महिला अनी पुरुष दुबैका लागि तर अधिकार माग्नेले आफ्नो कर्तब्य र जिम्मेवारीलाई बहन गर्न सक्नुपर्छ। एउटा असक्त बृद्धलाई उठाएर जवान युवती राख्न महिला सिट पक्कै बनाएको हैन। यस्ता धेरै घटनाका साक्षी तपाईं हामी पक्कै छौ।
समाप्त।
नोट: कथाको उद्देश्य परिवर्तन हो बिरोध होइन।
-आकाश जंग कट्टेल
Comments
Post a Comment