रमा मिस (कथा)

"रमा मिस" (#रमा_मिस)
'रमा' उहाको नाम। 
'रमा अधिकारी'!, हामी सबै 'रमा मिस' भनेर चिन्थ्यौ। 
तर उहालाई धेरै कार्यक्रमहरुमा यसरी बोलाइन्थ्यो- रमा अधिकारी "उद्बला"। उद्बलाको मतलब के थियो कुन्नी! थाहा थीएन हामीलाई। तर धेरै सुनेकाले घोक्याजस्तै भएको थियो। म कक्षा ६ मा पढ्थे। 
म यो "अधिकारी" थर देखिनै तर्सिन्थे किनकी मैले धेरै अधिकारिहरु(जस्तै: जिल्ला शिक्षा अधिकारी, प्रमुख जिल्ला अधिकारी, अमेरिकन अधिकारी आदि।) किताबमा पढेको थिए, लाग्थ्यो अधिकारीहरु जताततै छन। अझ डर लाग्नुको कारण थियो "बुकुने अधिकारी"। सबैले "बुकुने" भन्थे। छोरी मान्छे एक्लै देख्न नहुने जाइलागीहाल्ने। अग्लो जिउ ठुलो कद कालो कालो अनुहार लामो कपाल र दार्ही थिए। आफुलाई गाउको "दादा" हुँ भन्थ्यो सधैंजसो हल्का सुरा चढाएर हिंडेको हुन्थ्यो। सबैजना डराउथे उ देखी। हामी केटाकेटिको त झन आफु हिन्दै गरेको बाटोमा उसलाई परै देख्दानै कट्टु रसाउन थाल्थ्यो। कती झगडा र दुर्व्यबहारले कयौ पटक पुलिस चौकी पुगिसकेको थियो। उसको बोली सुन्दा नि लाग्य्थो चौकी त उसको ससुराली घर नै हो। 
रमा मिस अविवाहित हुनुहुन्थ्यो तर उमेर ढल्केको भने थिएन। भर्खर बिए पास गरेर आउनु भएको रे भन्ने हल्ला उहा आउँदा सुनेको थिए। तर मलाई बि.ए. भनेको विवाह होला भन्ने लाग्थ्यो त्यती बेला। आफुलाई महिला अधिकारवादी हुँ भन्नुहुन्थ्यो। हामीलाई सामाजिक शिक्षा पढाउनु हुन्थ्यो।
मिसले सामाजिक पढाउदा कैयौ पटक सामाजिक हक र अधिकारका कुरा गर्नुहुन्थ्यो। "मानिस सामाजिक प्राणी हो समाज उसको बस्ने थलो हो, समाजमा बस्ने सबै बराबर हुन्छन। छोरा भनेनी छोरी भनेनी आफ्नै सन्तान हुन। सबैलाई बराबर माया र व्यबहार गर्नु पर्छ। पुरुष महिला एउटै रथका दुई पाङ्रा हुन अनी एउटै सिक्काका दुई पाटा, एक नभए अर्काको अस्तित्व रहन्न। छोरालाई जत्तिकै छोरीलाई पनि पढ्ने लेख्ने अधिकार छ। महिलालाई घर धन्दा र घास दाउरामा मात्र सिमित राख्न हुन्न। उनिहरुलाई पनि बाटो देखाउनु पर्छ शिक्षा दिक्षा दिनु पर्छ, एउटा बच्चाको प्रमुख पाठशाला भनेको उसकी आमा हो, आमाले जे सिकाउछिन बच्चाले त्यही सिक्दै जान्छ तर आमानै शिक्षित छैनन भने बच्चाको भविस्यमा पनि ठुलो असर पर्न जान्छ। अझ दुइ सन्तान इश्वरका बरदान।" भनेर भन्नुहुन्थ्यो। म सबै कुरालाई सत्य मान्थे। कती पटक परिक्षामा मिसको यही कुरा मिश्रित उत्तर लेख्दा स्यब्बासी पनि पाएको थिए। लाग्थ्यो मिस सार्है जान्नेबुझ्ने हुन। मिसले २ ४ पटक गाउका पीडित महिला तथा छोरीहरुको ब्यथालाई सम्बन्धित केन्द्रसम्म पुर्याएर "बुकुने" जस्ता केही पुरुषहरुलाई घुडा टेकाउनु भएको थियो। सबैले उहालाई महिला हक र अधिकारका बारेमा आवाज उठाउने कर्मठ योद्धा मान्थे। उहाको नाम पछीको टाइटल "उद्बला" को अर्थ पनि त्यही "साहसी" हुदो रहेछ उहालाई नै सोधेर थाहा पाए। 
म ९ मा पढ्दा मिसको गाउकै एकजना दाइसँग प्रेम पस्चात धुमधाम सँग विवाह भयो। विवाह पस्चात मिस अली यताउती बिभिन्न कार्यक्रमहरुमा हिंड्न कम गर्न थाल्नु भयो। दाजु पनि बि.एस्सी. पास गरेर मा.वि. स्कुलको गणित, बिज्ञानको शिक्षक हुनुहुन्थ्यो। तल्लो माथ्लो घर पर्थ्यो हाम्रो। 
मिसका लगातर २ छोरीहरु भए। सार्है राम्रा पनि थिए उमेर ग्याप कम भएर पनि होला जुम्ल्याहा जस्तै देखिन्थे। तेस्रो बच्चा पनि फेरी छोरी नै जन्मियो रे भन्ने काठमाडौंमै हुँदा सुनेको थिए। 
दाई हामीसँग सबैकुरा भन्ने गर्नु हुन्थ्यो सार्है मिजासिलो स्वाभावको मान्छे। अस्ती दशैमा घर गएको थिए। पुगेको भोलिपल्ट कौसिमा निस्केर बसिरहेको थिए मिस करेसाबारिमा सागको बिरुवा रोप्दै हुनुहुदो रहेछ। जेठि छोरी सानो जगबाट पानी हाल्दै थिईन। मिसको कम्मरमा ठूलो सल बाधेको थियो। मलाई देख्नुभएछ बसीबसि सोध्नुभयो-
-ए बाबु कहिले आउनु भयो?
जवाफ फर्काए- हिजो मिस। नाताले भाउजु भन्नुपर्ने भएपनी म स्कुल देखिकै मिस भन्ने बानिले मिस नै भन्थे। 
फेरी प्रश्न आयो- के छ कसो छ पढाई?
-राम्रै चल्दैछ मिस। 
त्यतिकैमा च्यार.. च्यार.. नानी रोएको आवाज आयो। मिस जुरुक्क उठेर घरतिर फर्केर कराइनुभयो- ए माइली...! बहिनी रुई हल्ला हल्ला। 
यता म झसँङ्ग भए मिसको पेट देखेर। मिस फेरी गर्भवति हुनुभएको रहेछ। मनमनै दाइसँग रिसाउदै भने- "थुइक्क! बुडा तिम्रो यत्रो पढेलेखेको बुद्धी"। म कहिले दाइसँग भेट हुन्छ र रिस पोखेर हकारुँ भन्ने सोचमा थिए। त्यो दिन दाई बजार गएका रहेछन। दिनभरि एक्लै मुर्मुरिए। 
बेलुका दाई आउने बित्तिकै मेरो कोठामा बोलाए। बुडा आइहाले। अली झर्किए झै गरेर सोधे- 
-हैन बुडा तिम्रो बुद्दी कता गयो? के हो छोराछोरी फार्म खोल्ने सुरमा छौ कि क्या हो? महिलालाई त छोरा छोरी जन्माउने मेसिननै सोच्दा रैछौ त? बिचरा! मिस। 
दाइको नम्र जवाफ आयो- के गर्नु त बुडी मान्दै मान्दिन, एउटा छोरा त चाहियो-चाहियो भन्छे। मलाई त दुइटी छोरी हुँदै पुगेकै थियो। यस्ता निहुमा किन घर झगडा गर्नु भन्दा उसकै खुशी मान्दिएको। 
म अवाक भए। केही बर्ष अगाडि सम्म महिला पुरुष बराबर भन्दै महिला हक अधिकारका लागि लडी हिंड्ने मिसलाई जन्माउने बेलामा छोरो नै चाहिएको रहेछ। यस्तै महिला कती धेरै होलान देशमा जसलाइ जवानिमा अधिकार र जन्माउदा छोरो चाहिन्छ? मनमनै सोचे- "महिलालाई दुई जिब्रे भनेको ठिकै रहेछ।"
समाप्त। 
नोट- कथाकी "रमा मिस" यस्ता हजारौं महिलाकी प्रतिनिधि पात्र हुन अनी "बुकुने डन" हजारौ पुरुष प्रधान परिवारको एकमुस्ट पात्र हो। यस्ता कयौ घटना हाम्रो समाजमा अझै बिध्यमान छन। पढेर गुनेर शिक्षित भएपनी पुराना प्रथालाई छोड्न र तोड्न नसक्नु हाम्रो कमजोरी हो। कथाको उदेश्य समाज परिवर्तन गर्न खोज्नु मात्र हो, महिलाको बिरोध गर्नु होइन।

-आकाश जंग कट्टेल

Comments

Popular posts from this blog

BUMCO ($BUMCO) – The Roadmap to Meme Domination

एयरपोर्ट डायरी!

"गार्डन अफ ड्रीम्ज" डायरी!