सपना भाग-८
सपना (भाग-८)
भाग-७ सकिसक्दा घाम डुब्नै लागेका हुँदा हुन म आँफैलाई कथा सुनिरहु, लेखिरहु जस्तो भैरहेको थियो। अब १ भाग लेखेर राती खाना खाएर लेख्ने भनेर भने। आयुश ढल्किरहेको सिरानीलाई अली मिलाउदै थियो, लामो सास फेर्यो अनी हुन्छ को ईशारा गर्यो। उसले कथामा अगाडि बढ्ने अनुमती माग्यो मेरा हात केही गलेका भएपनी उसलाई भन्दै जान लगाए। मेरो मन पनि उत्सुकताले भरिएको थीयो कसरी रोकिन सक्थे लेख्दै गए-
नितान्त नौलो किस थियो त्यो। हाम्रो व्यबहार हेर्दा दुबैजाना कक्षा-१ मा रहछौ त्यो मामिलामा जस्तो लाग्थ्यो। एउटा सिकाइको स्वरुप थियो त्यो। यतिकै पनि ओठहरु यता उता सल्बलाई रहेका थीए। उसका ति बन्द आँखाको साथ अनी बेहोसिझै भावमा एकोहोरो म प्रती गरिएका गुलाबी ओठका सफ्ट टङ किसहरु अर्कै आनन्दका थिए। करिब २ मिनेट यसरिनै दुबै जनाका ओठ एक अर्काका ओठमाथि हावी भैरहे। ओठ बिस्तारै मैले नै हटाए। दुबै जनाका हात पनि हटे। एकछिन छाताको काम गरिरहेको एउटै ज्याकेट अझै जस्ताको तस्तै थियो। दुबै जनाको बोलीनै बन्द भयो। केही बोली आएन, उ झन एकोहोरो भएर अर्कैतिर हेरिरहेकी जस्ती देखिन्थी। लाज त त्यसपछी एकछिन मलाई माथि रुखमा बसेको चरालाई देख्दा नि देखेछ भनेर लागिराथ्यो। आज पानि मगमग त्यो कपालको वास्ना फिल्म हलमा जस्तै लामो लामो सासमा तानिरहेको थिए, अमृतको वास्ना जस्तै मानेर।
स्थितिलाई सहज बनाउन मलाईनै कर लाग्यो फेरी उसैगरी अङ्गालो हाले माया त मलाई कती लागेको थियो तर थोरै मात्र देखाउन सक्थे। सोधे-"के भयो?" अली सिरियस जस्तै भएर भनी- "नाइ केही भको हैन।"
मैले उसलाई केही नराम्रो फील भएको ठानेर मतिर तानेर मेरो छातीमा उसको जिउ टासे। उसले टाउको मेरो काधमा राखी, मेरो हात उसको काधैमा उसलाई चेपिरहेको थियो। त्यसरिनै कुरा गर्दै बस्यौ एकछिन, पानी पनि रह्यो। मैले उठेर ज्याकेट लगाए उ बसिबसि कपाल मिलाउदै थीई। तलबाट एक जना गार्ड हामीतिर आए। मैले वास्ता गरिन। हामी नजिकै आएर नम्र स्वरमै भने-"पहिलो पटक घुम्न आउनु भएको हो?"
मैले पहिलो पटक नभएपनी-"हो भन्दिए"म पहिला कलेज पढ्दानी २ पटक अाइसकेको थिए। एक पटक साथीहरु सँग र एक पटक भाईलाई घुमाइ दिन।
गार्ड "यहाँ यसरी बस्न पाइदैन तल तिर जानुहोला है" भनेर अझै माथितिर लाग्यो। सपना अली आत्तिए जस्तो गरी एकैछिन अघिलाई सम्झेर होला। म भित्र केही गल्तिको आभास भएपनी बाहिर देखाइन। मलाई उसको अघि राजा जो बन्नु थियो। गार्डको सुझाव सामान्य थियो सामान्यै तरिकले लीइदिए। लाजले होला उ मायाप्रेम भन्दा पनि घरायसी कुरा गरेर बोल्न खोज्थी। त्यहा पनि त्यस्तै भयो उ घरायसी कुरामै ब्यस्त थीई। “ममिले जिस्काउदै लभ पर्या छ क्या हो तेरो खुब च्याटमा हुन्छस जतीखेर नि भन्नु भयो रे। उसले चै यो ममी नि जे पायो त्यही भन्नु हुन्छ भन्दै टारी अरे, अनी मन भित्र भित्रै छै मलाई सम्झी रहे” भन्दै सुनाइ। अनी मैले किन नभनेकी त डर लाग्यो भन्दै जिस्काइ दिए। उ नाइ म त भन्दिन बरु पछी पछी भनौला भनेर उसैगरी मेरो काधमा हलुका गरेर टाउको राखी। उसको त्यो प्रेम युक्त हर्कत देखेर अनि त्यस्तो उत्तर सुनेर मेरो मन यो खुशीमा साहसिलो हुदै यमराज सँग पनि जोरि खोज्ने भएको हुदो हो। म यो सोच्न थाले कि म सँग उसले भबिस्य सोचेकी छ, सपना बुनेकी छ त्यसैले त पछी घरमा भन्छु भन्छे। सत्य हो! सच्चा प्रेमिहरुले आजलाई मात्र हैन भोलीलाई समेत हेर्छन किनकी उनिहरु सम्बन्ध कहिल्यै नछुटोस भन्ने चाहन्छन। फेरी मेरो नाक तान्दै अती प्यारो हुँदै भनी- "हजुर त्यस्तो केही त खाइसिन्न नि? मैले थाहा पाए भने फेरी के गर्छु थाहा पाइ स्या छ नि?" उसको बोल्ने यो भाषाले नै मलाई उसको गाली पनि गुलियो लाग्थ्यो भने अरु कुरा त झन सुनी रहु जस्ता हुन्थे। "के गर्छौ भन त?" अली जिग्यासु स्वरमा भने। "बोल्दिन कहिले पनि!" भन्दै अर्कोतिर फर्की। नाइ! म कहिल्यै त्यसो गर्दिन र गर्नेछुइन पनि भन्दै उसलाई अँगालो हाले। यदी सपना म सँग नबोल्दी हो त मेरो हालत के हुन्थ्यो म भन्न सक्दिन यत्ती तुलाना गर्न सक्छु कि पानीबिनाको माछा, सिम बिनाको मोबाइल , फल बिनाको रुख अनी अडियो बिनाको फिल्म आदी।
फेरी दुबैजना मायालु भावमा देखियौ बेलुका पख भेट भएका ढुकुरका जोडी जस्ता। उ पनि केही अघी सरेझै गरी, मेरा पनि ओठ लम्की गए। फेरी दुबैजना त्यही पहिलेकै अवस्थामा पुग्यौ, यो किस पहिलाको भन्दा केही सभ्य थियो शायद। कहिले उ बिस्तारै आफ्ना ओठले मेरा ओठ खेलाउथी अनी मलाई छाडिदिन्थी, म पनि उसै गरी उसका ओठ मेरा ओठले खेलाउथे, रुवाले छोएजस्तो, कतै काउकुती लागेजस्तो, छुट्टै अनुभव थियो त्यो।
दिउसोको २ जती बजेको हुदो हो, हामी त्यहाबाट हिड्यौ। जादा अघिपछी हुँदै गएकी उसले फर्कदा मेरो दाहिने पाखुरामा समाइ। अली-अली दुबैजनाको लाज हराएको जस्तो भयो। शायद पानीले कुटेर पखालिएछ क्यारे! मैले फोटोहरु खिच्दैनौ त भने उसले फेरी ममिले फोटो हेरौ न भन्नु भयो भने है भन्दै एक दुई वटा फोटो खिच्न लागाइ। उभिएर चुप लागेर मलाई हेरेजस्तो गर्थी म मुस्कान भनेर आफु हासिदिन्थे अनी उ पनि हास्थी। हजुर पनि खिच्नु भनेर ३ ४ वटा उसले पनि फोटो खिचिदीई। कती दिनसम्म लाजमा अड्किएको हाम्रो माया त्यही किसले धेरै सहज् बनाइ दिएको थियो। निस्केर अली माथिको घुम्तीमा आएर दुबैजनाले म:म खायौ। खाँदैगर्दा मैले उसको प्लेटबाट एउटा म:म झिकेर खाइदिए। उसले हाँस्दै म तिर हेरिरही अनी त्यसै गरेर मेरो प्लेटबाट झिकेर उसले पनि खाइदीइ। मैले आफैले अर्को म:म मेरै प्लेटबाट झिकेर खुवाइदिए उसले आधा मात्र खाएर मलाई खुवाइदीइ। उसलाई के लाग्यो कुन्नी! अाइसक्रिम खाम न भनी। उसलाई भेनिला मन पर्दो रहेछ मलाई स्ट्र बेर्री मन पर्ने मैले मगाइ हाले।
अब उ पुरै हास्न थाली पख्नु हजुरलाई भनेर! म उसको रुपमा सुहाएको त्यो हासो देखेरनै एकोहोरी रहेको थिए। अाइसक्रिम आयो अब उ किन छाड्थी अलीकती आफु खाँदै मलाई खुवाउदै गर्न थालि मैले पनि त्यसै गरे। खाजाको पैसा पनि म तिर्छु भनेर अघी सर्दै थीइ, मैले मानिन आँफैले तिरे।
प्रेम मौसमी हुँदैन। प्रेम हुन न कुनै मौसम चाहिन्छ न कुनै ऋतु, न घाम चाहिन्छ न त पानीनै। अनी बढ्नलाई न कुनै स्केल चाहिन्छ न निस्चित ठाउनै। प्रेम छिनमै बढेर रुखजस्तो बन्न सक्छ अनी छिनमै बिलाउन पनि।यदि सच्चा प्रेम हुन्छ त त्यो प्रेम अमर हुन्छ अनी सदाबहार हुन्छ। शायद सपना र मेरो प्रेम त्यस्तै थियो, कम समयमै ठुलो रुखजस्तो बनेको।
अघी आउँदा एक तिर फर्केर पर बस्ने सपना त्यहाबाट दुबैतिर खुट्टा झारेर म सँग टास्सिएर बसी। मेरो पनि बोल्ने साहसले शक्ती पैसाकेको थियो अघी आउँदाचै के भा थियो अर्काकी बुडी जस्तो गरेर पर बसेथ्यौ त खुट्टा पनि एकैतिर राखेर भन्दै जिस्काए। उसले पनि जिस्किदै हजुरको ड्राईभिङ चेक गरेकी नि भनी, तर उसको जती जिस्केपनी सत्यता बताउने बानी थियो अन्त्यमा लाजले नि भन्दै हासी। मैले अब त लाज छैन होला नि भनेर सोधे। आउँदा जस्तो छैन भन्दै फेरी मुस्कुराइ। उ मेरो दाहिने काधमा टाउको राखेर कुरा गर्दै अाई म पनि हेलमेटको ग्लास माथितिर सारेर बोल्दै आए। छुट्टीने बेलामा अब भेट्ने कहिले भन्दै सोधे, उसले खै भनेर अली नरमाइलो मानेझै गरी। आँफैले म तिम्रो कलेज सम्म भए नि अाइराख्छु नि भनेर सम्झाए। उसले हवस टाटा भन्दै हात हल्लाएर बिदा मागी, म हात हल्लाउदै बाइक फर्काएर उ तिरै हेरेर बसिरहे उ तलसम्म पुग्दा नि बेला बेला फर्किदै हेर्दै हाँस्दै गई।
क्रमश:
Comments
Post a Comment