आमा (वर्णन)
आमा
आमा...
मेरी आफ्नी आमा। तपाईंहरुकी आमा जस्तै।
कसैको खेतालो गएको बेला खाजामा दिएको आधा मकै मेरो कालेले कती मिठो गरी खान्छ भनेर आफ्नो पेट भोक्कै बनाएर पोल्टाको एक छेउमा पोको पारेर ल्याउने आमा। धनीका घरमा काम गर्न जादा तिनिहरुका छोरा छोरीले आधा लेखेर फ्याकेका कपी मेरो कालेलाई क ख सिक्न हुन्छ भनेर टिपेर ल्याउने मेरी आमा। घर छेवैको सानो गरामा ३० भारी भैंसीको गोबर हाली साग रोपी शनिबार बिहानै कल्कलाउदो सागको ठुलो भारी बोकेर ३ घण्टा टाढाको हटिया गएर साग बेचेर "मेरो कालेलाई सबैले फोहोरी भने रे हुन पनि हो त्यही भेस्ट कट्टु बाहेक केही छैन मलाई त कान्छी मुखिनिले दिएको गुन्यु र चोलो छदैछ" भनेर एक जोर कपडा किनेर ल्याइदिने आमा। सोमबार रातिनै खाना बनाएर "बाबु ९ बजे तिर खाएर स्कुल जानु है, ज्ञानी बन्नु है" भन्दै २ ४ रुपैया नाफा गर्नलाई सकिनसकी ५० किलो लोकल चामलको धोक्रो बोकेर आएको नाफाले मेरो कालेको फिस र कपी कलम किन्छु भन्ने आशमा बाह्रबिसे बजार पुग्ने मेरी आमा। घरमा पालेका खसी बोकाको पैसा चाँही मेरो कालेलाई पछी चाहिन्छ भनेर बचत गर्ने, अनी भैंसीको दुध, घिउ बेचेको पैसाले कहिले मासु माछा कहिले अरु केही मिठो खाने कुरा खुवाएर घर खर्च चलाऊने आमा। आफु सधैं अनपढ भएपनी मेरो काले पढाउछु भन्दै हलो सम्म जोतेर मलाई स्कुल पठाउने मेरी आमा। तिम्रो छोरो पढेर स्कुल फस्ट भएर रातो अबिर दलेर घर अाइपुग्दा कती खुशी हुन्थ्यौ है! कहिल्यै बिर्सिन्न म तिम्ले ति अगाडिका किरा लागेर फुकालेपछिका थोते दात देखाउदै हासेको दिन।
थाहा छैन! तिम्रो छोरो तिमीले सोचे जस्तै बन्यो या बनेन तर तिम्ले दु:ख गरेर पढाएको तिम्रो छोरो तिम्रा दु:ख र पिडाचाही मज्जाले लेख्न सक्ने भएको छ। तिम्रा हरेक दु:खमा साथ दिन सक्ने भएको छ। अनी तिम्रो छोराले पढेलेखेका यि हरेक अक्षर अक्षर तिमीले कहिले साग कहिले, दुध, कहिले घिउ कहिले चामल बेचेर किनेकी हौ।
आज पनि हेर्छु तिमीले त्यही ५ बर्ष अगाडि किनेको साडी चौबन्दी चोलो र पटुका बाधेर दिन रात काम गरीरहेकी हुन्छ्यौ। त्यो मुखिनिले दिएको गुन्यु पनि कती ठाउमा आँफैले सियोले सिलाएर लाएकी छौ। तिम्रो कालेलाई पढाउन खर्छ पुग्दैन भनेर न एउटा चाउचाउ बिस्कुट किनेरनै खान्छौ। कसैले खा है भनेर दिएको बिस्कुट चाउचाउ पनि मलाई पठाएको चामल सँगै पठाइ दिन्छौ। चामलमा कहिले 5०० कहिले १००० को नोट नहालेको खेपै हुन्न। फोनमा पनि त खाली खाइस, खाईनस, सन्चो बिसन्चो मात्र धेरै सोध्छौ नि किनकी तिमीलाई विश्वाश छ कि तिम्रो छोरो तिमीले चाहेको भन्दा अरुतिर जानै सक्दैन। अनी कसैले सोध्यो भने कती गर्वका साथ जिब्रो लट्पट्याउदै भन्छौ- "साईन्ज कि सान्स के भन्छन हौ म त भन्न पनि जान्दिन त्यही पढेको हो मेरो कालेले।"
कहिलेकाही घरको आटिमा बसेर सकिनसकी आँखा तन्काउदै कुरुसले मेरो लागि धागोको टोपी बुन्दै गर्दा बुहारी ल्याएपछी हेर्छस कि हेर्दैनस फेरी मेरो त अरु कोही पनि छैन भन्दै भरिएका आँखाबाट तिमीले ठुला ठुला दुई ढिका आशु झार्दा कती दुख्छ भित्र आमा मलाई। कसरी सक्छु आमा! म तिमी जस्ती महान आमाको माया बिर्सन। सम्झदै आसु झर्छन मेरा।
आमा! अरु सकुला नसकुला तर मेरै पढाई लेखाइमा जिन्दगी र आफ्ना नङ खियाएकी तिम्रो त्यो १० पटी टाली राख्नु पर्ने मुखिनिले लाएर फालेको पुरानो गुन्युको सट्टामा तिम्रो आफ्नै छोराले किनेको नयाँ गुन्यु लगाइदिने मन छ। त्यो दुला दुला परेको पुरानो साडिको सट्टमा नयाँ साडी फेरिदिएर तिम्रो दातको अगाडिको त्यो थोते भाग पुरिदिने मन छ। बर्सेनी चुही राख्ने त्यो सानो झुपडिलाई फालेर सानो चिटिक्क परेको घर बनाउन मन छ। अनी तिमी बसेर खानेछौ म कमाउनेछु।
समाप्त।
कथा सबै आमाहरुमा समर्पित छ।
-आकाश जङ्ग कट्टेल
Comments
Post a Comment