सपना भाग-६
#सपना (भाग-६)
रातैभरी उसैको याद अाइरह्यो, रात पनि पुरा रात के भन्नु सबैसँग कुरा गरेर सुत्दा १ बजिसकेको थियो। मन खुशीको कुन संसारमा उडिरहेको थियो खै तबसम्म पनि आफ्नो बशमा आएको थिएन। निन्द्रा त झन के लाग्थ्यो आँखा खोल्यो, कोठैभरि उ नै छाइदिन्थी आँखा बन्द गर्यो आँखाभरी उ नै आईदिन्थी। फेसबुक खोलेर धेरै पटक त्यो उसको मेसेज पढे, उसका फोटाहरु एक एक आफ्नो मोबाइलमा सेभ गरे अनी हेर्दै छातीमा टासेर निदाउने प्रयास गरे। २ ३ बजे तिर निदाएको हुदो हुँ बिहान ७ बजे ब्युझिए।
उसको फोन आएको रहेछ निन्द्रामा थाहानै पाएनछु कल ब्याक त गरौ भनेर गरे तर कक्षामा थिई शायद फोन उठेन। मलाई उसको एक कल छुटाउनु पनि ठुलो पिडाको बिषय बन्थ्यो १ बर्ष पढेर बोर्ड एक्जाम छुटाएझै। उसले सधैं जसो ११ बजे कलेज सकिने कुरा गर्थी। मलाई त के गर्ने कसरी जाने सुझीरहेको थिएन। कहिल्यै कतै आफ्नो लवाइ र ब्यक्तीगत पहिरनमा ध्यान नदिएको म उसको छेउमा लाज हुने हो कि भनेर भरसक राम्रो पल्टिन खोजिरहे थिए। नजिकैको सैलुनमा गएर कपाल काटेर फेसियल गराए कपाल काट्ने दाईसँग सधैंजसो गईरहने भएकाले पहिल्यै देखी चिनजान थियो जिस्काउदै भने- आज gf भेट्न जारहेहो क्या? , बाइक पनि ग्यारेजमा लगेर धुन लगाएर टिलिक्क पारे। बिहान बिहाननै जाडो हुँदै थियो आफुपनी नुहाए। भित्र सेतो कलरको टिसर्ट, जिन्स ज्याकेट र कालो फिटिङ पेण्टमा कालो जुत्ता लगाएर बाहिरबाट अत्तर छर्किए। एक एक कुरा गर्दा म केही नबिग्रियोस भनेर यू-ट्युबमा भिडियो हेर्थे। बश! अब उसको फोनको प्रतिक्षा थियो।
१० बजेसम्म पनि फोन नआएपछी बाहिर गएर पर्खने सुरमा कोठाबाट निस्किए। बानेश्वर पुग्नै लाग्दा मनले यत्तिकै त कसरी जानु यती मन पराएकी आफ्नी प्रेमिका भेट्न भन्ने लाग्यो। छेउकै गिफ्ट सपमा गएर एउटा रोज किनेर ज्याकेटको भित्री गोजिमा हाले। त्यहाका २-३ जना केटीले मेरो चाल र पहिरनबाटै सङ्का काटेका हुन शायद मुसुक्क मुसुक्क हाँस्दै थिए। मैले सबैको हासो देखेर पनि केही नजानेझै गरेर निस्किए।
तिनकुने पुग्नै लाग्दा उसको फोन आयो हतार हतार बाइक साइड गरेर उठाए। उ अली रिसाएर बोली- हजुर त फोन गर्दा नि नउठाउने है?
गल्ती स्विकार्दै भने- निद नै लागि राख्या थेन बिहान कती बेला निदाएछु थाहा पाइन सरी! यही सरी भन्न अरुसँग भए मलाई मान मर्यदाको नाश भएको जस्तो लागेर हिनताबोध हुन्थ्यो होला उ सँग भने सरी भन्न पनि मज्जा लाग्ने। तर गल्ती गरेर हैन, अन्जानमा भएका गल्तिका लागि मात्र।
उ चुप लागिरही सायद आजको हाम्रो प्लानिङको बारेमा कुरा निकाल्न सकिन शायद। म आँफैले भने- अनी तिम्रो कलेज कतिबेला सकिने हो, म आउँदै छु सोध्न पनि बिर्सिएछु खुशीले सबैकुरा बिर्सिएर।
हतारमा बोली- अब १ पिरियड बाँकी छ म क्लास सकेपछी फोन गर्छु, अाइ सक्नु भएछ एकछिन बाहिर कुर्दै गर्नु है। मैले टोइलेट आएर कल गरेकी जान्छु बाइ!
हस बाइ!
कलेज बाहिर रोड छेउकै एउटा क्याफेमा गएर चिया खाँदै बेला बेला गोजिको गुलाब छाम्दै सोची रहे- आउन त अाइयो अब कहाँ जाने होला यहाँ बाटो बाटो बसेर त हुन्न। कतै घुम्ने ठाउँमा लिएर जाउ, उसको युनिफर्मले नहुने। फेरी आफुलाई त्यता तिरका कुनै क्याफे थाहा थिएनन। सोचे बानेश्वरनै जाम भन्छु। कारीव २० मिनेट त्यहा कुरेपछी उसको फोन आयो। अब मुटुको धड्कन त्यही फिल्म हलको जस्तो धड्किन थाल्यो जिउ तातिएर गर्मी भयो, अनुहार पनि रातो पिरो बनाएको हुदो हुँ। फोन उठाएर आफु बाहिर क्याफेमा छु बाहिर निस्क भने। म भने छिटो छिटो मेन रोडको तल्लो छेउमै गएर बसे। उ अगाडी आएपछी मन कस्तो हुने हो चिस्सिएर कुन हालतमा पुग्ने हो भनेर आँफैलाई सम्हाल्न खोजी रहेको थिए।
उ पछाडि ब्याग बोकेर हल्का निहुरिदै फोन गर्दै अाइ यता म भने कुन लाजले हो हेलमेट पनि लगाइसकेको थिए। गोरो अनुहार, कालो आधाजिउ ढाकेको खुल्ला छाडेको कपाल, सट पाइन्ट खुब मिलाएर लगाएको थिई बाहिर कोट पनि थियो खुबै सुहाएको। म उसलाई पाएकोमा मनमनै आफुलाई धेरै भाग्यमानी ठानिरहेको हुदो हुँ, उसको फोन आयो। मैले तिमीलाई देखी राख्या छु माथि तिर हेर त भनेर लाज लुकाउदै हेल्मेट अली माथितिर सारे। उसले आफुसङै आएकी साथीलाई खै के भनी अनी आफु भुइतिर हेर्दै लजाउदै मुस्कुराउदै म भएतिर अाइ साथी अर्कैतिर लागि। म पनि यता लाज लुकाउन ठाउँ खोज्दै थिए तर सकिरहेको थीइन।
जसो तसो मलाई निडर देखिएर बोल्नु थियो केही बोल्न आएन खल्तिको फुल निकल्नु त कता हो कता अगिनै उस्ले देख्छेकी भनेर त्यही कतै माटोले पुर्नु जस्तो भएको थियो मनमनै। आफु भित्रको त्यो सबै लाज र असजिलोलाई दबाउदै १० बर्ष देखी मिल्ने साथीजस्तो गरेर सुरुमै सरी बिहान फोन उठाउन सकिन भनिदिए। उसले सरी नभन्नु भनेर भावनात्मक सम्बन्ध देखाइ। मैले उसलाई पछाडि बस्न भने, उसले कहाँ जाने हो र भनेर सोधी र आफुसँग समय धेरै नभएको बताइ। मैले बानेश्वर सम्म मात्र जाने हो कहाँ बाटोमा बस्ने त भने अनी आफुले घर छेवै सम्म लगेर छडिदिने बाताए। उ सहमत जनाउदै धेरै बेर बस्न नसक्ने भन्दै पछाडि बसी।
उ पछाडि यसरी बसिदीई कि कतै जिउ पनि नछुवाइ परै। मैले पनि लाग्थ्यो कसकी श्रीमती, कसकी गर्लफ्रेण्ड बोकेर हिडिरहेछु अनी यो कतै हाम फालेर भाग्ने वाला छ। सिधै बानेश्वरको RnB लिएर आए। उ पनि कहाँ लादैछ के गर्दैछ भनेर अचम्मित भएकी हुदो हो, पुरै अन्जान अनी उत्सुक अनुहार बनाइ रहेकी थीई। बसेर धेरै बेर कुरा गर्यौ, खै मलाई कती माया लाग्न थाले थियो कुन्नी! बढी आत्मिय मै बन्न खोज्थे। उ हाँस्दै बोल्थी, म पनि हासिदिन्थे। मलाई कसरी त्यो गुलाब दिनुझै भैरहेको थियो, तर सकिरहेको थिईन।
बिचमा मैले जे हुन्छ हुन्छ भनेर आँखा चिम्लिन लगाए उ किन-किन भनेर एकछिन त मानिन। मैले चिम्ल कि चिम्ल भनेपछी चिम्लिदीइ। मलाई त त्यो फुल फुत्त निकालेर उसको हातमा राखिदिन मन थियो तर सकिन। उसले र मैले खाएको चिसो कोकको बोतल एकैठाउ राखेर आफ्नो जुन रोज्यौ त्यही आफुले खानु पर्ने भनेर भने। उसले एउटा र अर्को गर्दै अन्तमा मेरो छानी अनी पिईदीइ मैले पनि उसको बोतल लिए। भने जुठो खायो भने आत्मियता बड्छ रे! उ है ल बढोस् भनेर मुसुक्क हासी। खै उसलाई के लाग्यो कुन्नी उसले हजुर चुरोट, हुक्का खाइसिन्छ कि नाइ भनी? मैले नाइ! कहिल्यै खान्न भने उ खुशी हुँदै खाने मान्छे मन पर्दैन भनी। मलाई मैले खान्छु भनेको भए खानेनै मन पर्छ भन्थी होला भन्ने नलागेको हैन तर भनिन।
उसको मुस्कानमा कती राम्री देखिन्थी खै म हेरेको हेरै हुन्थे। बेला बेला आँखा जुदाइदिन्थे उ अली अर्कै तिर हेरेर तर्काउथी। करिव १ घण्टा जती बसेपछी मैले शनिबार गोदावारि घुम्न जाम है भनेर प्रस्ताव राखे उसले घरमा कुरा मिलाएर बताउने भनी। मैले उसको घर छेवैमा पुर्याइदिने भनेर भने उ हैन म गाडीमा गैहल्छु भन्दै थीई मैले "के म चाँही कोही हैन कि क्याहो भनेर रिसाइदिए।" उ हजुर त भन्दै पछाडि चढि अगिको भन्दा अली टासिएर मैले बाइक चलाऊदै खुब खुशी लागिरहेछ भने उ केही बोलिन। हासी मात्र।
घर पुग्ने ५ मिनेट अघीनै मलाई रुकाइछ अनी अब ५ मिनेट लाग्छ गै हाल्छु भनेर बिदा माग्दै हासी। उसको हासो मै धेरै कुरा बुझ्न बानी पेरिसकेको म, बिदाइ गरेर फर्किए। गोजिको गुलाब गोजिमै थियो। धन्न कपडाको थियो र अर्को पटक दिन्छु भनेर जस्ताको तस्तै राखे।
क्रमश:
Comments
Post a Comment